Rule 22
गाउँ शिक्षा समितिको बैठक सम्बन्धी कार्यविधि
(१) गाउँ शिक्षा समितिको बैठक तीन महिनामा कम्तीमा एक पटक बस्नेछ ।
(२) गाउँ शिक्षा समितिको बैठक सो समितिको अध्यक्षको निर्देशनमा सदस्य–सचिवले बोलाउनेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गाउँ शिक्षा समितिका एक तिहाई सदस्यले लिखित अनुरोध गरेमा सदस्य–सचिवले जहिलेसुकै पनि गाउँ शिक्षा समितिको बैठक बोलाउनु पर्नेछ ।
(३क) गाउँ शिक्षा समितिको बैठकमा गाउँ विकास समिति क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकहरुलाई आमन्त्रण गर्न सकिनेछ ।
(४) गाउँ शिक्षा समितिको बैठकमा छलफल हुने विषय सूची सदस्य–सचिवले साधारणतः तीन दिन अगावै सदस्यहरुलाई दिनु पर्नेछ ।
(५) गाउँ शिक्षा समितिका तत्काल कायम रहेका पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा गाउँ शिक्षा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) गाउँ शिक्षा समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा गाउँ शिक्षा समितिको बैठकमा उपस्थित सदस्यहरुले आफूहरु मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(७) गाउँ शिक्षा समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(८) गाउँ शिक्षा समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।